Section 20
लगानी तथा आर्जित रकम फिर्ता लैजान पाउने
(१) विदेशी लगानीकर्ताले चाहेमा प्रचलित नेपाल कानून बमोजिम आफ्नो लगानीको शेयर वा उद्योग पूर्ण वा आंशिक रुपमा बिक्री गरी प्रचलित नेपाल कानून बमोजिम लाग्ने सबै कर भुक्तान गरी नेपालबाट आफ्नो लगानी फिर्ता लैजान पाउनेछ।
(२) विदेशी लगानीकर्ताले जुन विदेशी मुद्रामा लगानी गरेको हो सोही विदेशी मुद्रामा वा नेपाल राष्ट्र बैंकको स्वीकृति लिई अन्य परिवर्त्य विदेशी मुद्रामा प्रचलित कानून बमोजिमको कर सम्बन्धी दायित्व पूरा गरी देहाय बमोजिमको रकम फिर्ता लैजान पाउनेछ:-
(क)   विदेशी लगानीको शेयर बिक्रीबाट प्राप्त रकम,
(ख)   विदेशी लगानीबाट प्राप्त मुनाफा वा लाभांश बापतको रकम,
(ग)   उद्योग वा कम्पनी खारेजी वा लिक्विडेसनमा गएकोमा खारेजी वा लिक्विडेसन पश्चात सम्पूर्ण दायित्व चुक्ता गरी बाँकी रहन आउने रकम,
(घ)   प्रविधि हस्तान्तरण सम्झौता अन्तर्गत प्राप्त लाभ (रोयल्टी) बापतको रकम,
तर शतप्रतिशत मदिरा निकासी गर्ने मदिराजन्य उद्योग बाहेक अन्य मदिराजन्य उद्योगमा हुने प्रविधि हस्तान्तरण अन्तर्गतको ट्रेडमार्क उपयोग हुने बापतको रोयल्टी वा शुल्कको हकमा त्यस्तो लाभ बापतको रकम प्रचलित कर बाहेकको कुल बिक्री मूल्यको तोकिए बमोजिमको पाँच प्रतिशतभन्दा बढी हुने छैन।
(ङ)   लिज लगानी अन्तर्गत लिज भाडा (लिज रेन्ट) रकम,
(च)   नेपालमा चलेको मुद्दा, मध्यस्थता वा अन्य कुनै कानूनी प्रक्रियाको अन्तिम व्यवस्थापनबाट प्राप्त गरेको कुनै हर्जाना वा क्षतिपूर्ति बापतको रकम।
(छ)   प्रचलित कानून बमोजिम फिर्ता लैजान पाउने रकम।
(ज) विशिष्टीकृत लगानी कोषको इकाई बिक्री बापतको रकम,

(झ) विशिष्टीकृत लगानी कोषको इकाईबाट प्राप्त मुनाफा।

(३) उपदफा (१) वा (२) बमोजिम परिवर्त्य विदेशी मुद्रामा रकम फिर्ता लैजाँदा प्रचलित विनिमय दरमा सटही गरी लैजानु पर्नेछ।
(४) दफा १२ बमोजिमको विदेशी वित्तीय संस्थाले नेपालको चल वा अचल सम्पत्ति धितो वा बन्धक लिई कुनै उद्योग वा कम्पनीलाई ऋण दिएकोमा त्यस्तो ऋणको सावाँ वा ब्याज रकम भुक्तानी नभएको कारणबाट धितो वा बन्धक दिएको चल वा अचल सम्पत्ति लिलाम बिक्री वा जफत गर्नु परेमा त्यस्तो ऋण दिने संस्थाले प्रचलित कानून बमोजिम नेपालको बैंक वा वित्तीय संस्था सरह लिलाम बिक्री गरी ऋणको सावाँ ब्याज फिर्ता लैजान सक्नेछ।
(५) लिज सम्झौता बमोजिम भुक्तानी नभएको वा सम्झौताको शर्त उल्लंघन भएको कारणबाट लिज सम्झौता अन्त्य भएमा विदेशी लगानीकर्ताले आफ्नो लगानी र लिजमा लगानी गरेको सम्पत्ति फिर्ता लैजान सक्नेछ।
(६) यस दफा बमोजिम विदेशी लगानी वा त्यसबाट आर्जित रकम फिर्ता लैजान चाहने विदेशी लगानीकर्ताले स्वीकृतिको लागि तोकिएबमोजिमको ढाँचामा विदेशी लगानी स्वीकृत गर्ने निकायमा निवेदन दिनुपर्नेछ।
तर नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी विदेशी लगानी वा त्यसबाट आर्जित रकम फिर्ता लैजाने सम्बन्धी स्वीकृति दिने अधिकार एकल बिन्दु सेवा केन्द्रलाई प्रदान गरेमा त्यस्तो निवेदन एकल बिन्दु सेवा केन्द्रमा दिनुपर्नेछ।
(हृक) उपदफा (२) को खण्ड (ज) वा (झ) बमोजिमको रकम फिर्ता लैजान चाहने विदेशी लगानीकर्ताले: स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिनु पर्नेछ।
(७) उपदफा (६) वा (६क) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा विदेशी लगानीकर्ताले यस ऐन, प्रचलित कानून तथा विदेशी लगानी सम्बन्धमा भएको सम्झौता बमोजिमका शर्त र दायित्व पूरा गरेको देखिएमा विदेशी लगानी स्वीकृत गर्ने निकायले निवेदन प्राप्त भएको मितिले सात दिनभित्र विदेशी लगानी वा त्यसबाट आर्जित रकम फिर्ता लैजाने स्वीकृति दिनुपर्नेछ।
(८) उपदफा (७) बमोजिम स्वीकृति प्राप्त भएपछि विदेशी लगानीकर्ताले विदेशी मुद्राको सटही सुविधाको लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिन सक्नेछ।
(९) उपदफा (८) बमोजिम निवेदन प्राप्त भएपछि नेपाल राष्ट्र बैंकले विदेशी लगानीकर्तालाई विदेशी लगानी फिर्ता लैजान सटहीको सुविधा उपलब्ध गराउनेछ।
(१०) विदेशी लगानी भएको कुनै उद्योग पूर्ण वा आंशिक रुपमा बिक्री गरी वा कुनै कारणले उद्योग वा कम्पनीको दर्ता खारेज भई लगानी रकम फिर्ता लैजाने भएमा त्यस्तो उद्योगले भुक्तान गर्नुपर्ने कर लगायत सम्पूर्ण दायित्व भुक्तान वा फरफारख भएपछि मात्र बाँकी रकम फिर्ता लैजान पाउनेछ।
(११) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी लगानीकर्ताले यस ऐन बमोजिम कुनै उद्योगमा गरेको विदेशी लगानी वा सोबाट आर्जित मुनाफा फिर्ता लैजाँदा निजको सम्बन्धित कम्पनीमा रहेको लगानीको हिस्साको अनुपातको हदसम्म मात्र त्यस्तो लगानी वा मुनाफा फिर्ता लैजान पाउनेछ।
(१२) कुनै विदेशी लगानीकर्ताले आफ्नो लगानी रकम फिर्ता लैजाने सन्दर्भमा त्यस्तो स्वीकृति दिने निकायले गरेको निर्णय उपर चित्त नबुझेमा मन्त्रालय समक्ष निवेदन दिन सक्नेछ। मन्त्रालयले त्यस्तो निवेदन उपर पन्ध्र कार्यदिन भित्र निर्णय गरी सक्नु पर्नेछ।